सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका चारै जना मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। बुधबार बिहान मन्त्रिपरिषद् बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।
राजीनामा दिने कांग्रेसका मन्त्रीहरूमा घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढा रहेका छन्।
हाल कर्णाली प्रदेश मन्त्रिपरिषद् ७ सदस्यीय रहेको छ, जसमा कांग्रेसबाट ४ र एमालेबाट ३ जना मन्त्री थिए। कांग्रेसका मन्त्रीहरूले एकैसाथ राजीनामा दिएपछि मुख्यमन्त्री कडेल नेतृत्वको सरकार तत्कालका लागि संकटमा परेको छ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन सरकार गठन भएको थियो। दुई दलबीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी रहेकाले पछिल्लो राजनीतिक घटनाक्रमलाई त्यसैसँग जोडेर हेरिएको छ। अब कर्णाली प्रदेश सरकारको आगामी स्वरूपबारे राजनीतिक दलहरूबीच छलफल र निर्णय हुने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम सरकारमा संकट: मुख्यमन्त्री शाहद्वारा एमालेका चारै मन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार नेकपा (एमाले) का चारै जना मन्त्रीलाई पदमुक्त गरेका छन्। प्रदेश सरकारको बजेटलाई लिएर कांग्रेस–एमालेबीच बढ्दो विवादपछि मुख्यमन्त्री शाहले यस्तो निर्णय गरेका हुन्।
मुख्यमन्त्री शाहले यसअघि एमालेका मन्त्रीहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा स्पष्ट गर्न आग्रह गरेका थिए। उनले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै बजेट पारित गर्न सहयोग गर्ने, सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने तीन विकल्प दिएका थिए।
असार १ गते कांग्रेस नेतृत्वको प्रदेश सरकारले प्रस्तुत गरेको बजेटप्रति एमालेले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो। एमालेका प्रदेशसभा सदस्यहरूले बजेटविरुद्ध खर्च कटौती प्रस्तावसमेत दर्ता गरेपछि सत्ता गठबन्धनभित्रको विवाद झन् चुलिएको थियो।
एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको राजनीतिक समीकरण नयाँ मोडमा पुगेको छ। अब सरकारको आगामी रणनीति र गठबन्धनको भविष्यबारे राजनीतिक चासो बढेको छ।

