काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनेपछि विदेशिने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा बढेको दाबी गरेका छन्।
आइतबार पार्टी मुख्यालय च्यासलमा एमालेका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले पहिले वैदेशिक रोजगारीलाई लिएर चर्को आलोचना गर्नेहरू अहिले सरकारमा पुगेपछि विदेशिनेको संख्या बढ्दा मौन बसेको आरोप लगाए।
‘पोहोर यतिबेला विदेश गयो भनेर निकै ठूलो हल्ला गरिन्थ्यो। तर अहिले त्यसभन्दा बढी मानिस विदेश गएका छन्, सबै चुपचाप छन्,’ ओलीले भने।
उनले देशभित्र रोजगारी सिर्जना नगरेर युवालाई विदेशिन बाध्य पारिएको भन्दै आलोचना गर्ने दलहरू अहिले विदेश जानुलाई ‘युवाको अधिकार’ भन्दै व्याख्या गरिरहेको आरोप पनि लगाए।
ओलीले विशेषगरी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै जनताको हितभन्दा आफ्नो संकीर्ण राजनीतिक स्वार्थका लागि तर्क गर्ने गरेको टिप्पणी गरे।
‘पोहोर विदेश जानु स्वाभाविक थिएन, अहिले स्वाभाविक भनिँदैछ। उनीहरू आफ्नो स्वार्थअनुसार कुरा बङ्ग्याउने गर्छन्,’ उनले भने।
सांसदहरूलाई सम्बोधन गर्दै ओलीले संसदलाई भ्रमपूर्ण सूचना सच्याउने र सही तथ्य जनतासम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न निर्देशन दिए।
उनले कानुन बनाउन एमालेसँग आवश्यक बहुमत नभए पनि जनताको आवाज उठाउन पार्टीसँग पर्याप्त प्रतिनिधित्व रहेको दाबी गरे।

