जनकपुरधाम। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्।
मंगलबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा एमालेबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी दिए।
उनले तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको उल्लेख गर्दै प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए।
मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका दाहालले पार्टीको प्रशिक्षण, संगठन सुदृढीकरण तथा कार्यकर्ता परिचालनलाई प्राथमिकताका साथ अघि बढाइने बताए।
नेकपाले आयोजना गरेको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

