ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै उनको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो।
७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि बंगलादेशको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएसँगै बंगलादेशको राजनीतिक अवस्था निकै अस्थिर बनेको थियो।
राष्ट्रपतिका प्रेस सचिवका अनुसार हालै गरिएको स्वास्थ्य परीक्षणमा शाहावुद्दिनमा ‘अटोनोमिक न्युरोप्याथी’ (Autonomic Neuropathy) रोग पुष्टि भएको छ। उक्त रोगका कारण आफू कहिलेकाहीँ केही समयका लागि चेतनाविहीन हुने अवस्था आउने भएकाले जिम्मेवारीमा निरन्तर रहन कठिन भएको उनले बताएका छन्।
उनको राजीनामासँगै शेख हसिनाले स्वदेश फर्किने भनिएको समय आउन अझै करिब पाँच महिना बाँकी रहँदा राज्यको उच्च तहमा उनका निकट सहयोगी कोही पनि नरहने अवस्था बनेको विश्लेषण गरिएको छ।
यसअघि हसिनाको नेतृत्वको आवामी लिगमाथि प्रतिबन्ध लगाइएको थियो। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सरकार परिवर्तनसँगै उक्त दलका धेरै नेता तथा कार्यकर्ता पक्राउ परेका वा सार्वजनिक जीवनबाट बाहिरिएका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार नयाँ राष्ट्रपति चयन नभएसम्मका लागि सभामुखले कार्यवाहक राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ। शाहावुद्दिनको राजीनामालाई बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रममा अर्को महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

