काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने महत्वपूर्ण राजनीतिक सहमति भएको छ। सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।
सार्वजनिक गरिएको सहमतिपत्रअनुसार प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असहमति, बजेटविहीन अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न चुनौती समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र विकासलाई गति दिने उद्देश्यका साथ दुई दल सहकार्यमा सहमत भएका हुन्।
सहमतिअनुसार दुवै दलले सबै प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। प्रदेश सरकारको नेतृत्वसमेत आपसी समझदारीका आधारमा बाँडफाँड गरिएको छ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गर्नेछ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
मधेश र गण्डकी प्रदेशको सरकार गठनबारे भने नेपाली कांग्रेससँग थप छलफल गरी साझा निष्कर्षमा पुग्ने सहमति भएको सहमतिपत्रमा उल्लेख छ।
यो सहमतिसँगै प्रदेश सरकारहरूमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्दै स्थिर सरकार गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। साथै प्रदेशस्तरमा विकास निर्माणका कामलाई प्रभावकारी बनाउने, बजेट कार्यान्वयनमा सहकार्य गर्ने र राजनीतिक अस्थिरता कम गर्ने उद्देश्य पनि सहमतिले अघि सारेको छ।


