काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको विधि र विधान मिचेर कांग्रेसलाई कमजोर बनाउने काम भएको बताएका छन्।
पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशनले पार्टीलाई क्षति पुर्याएको बताएका हुन्। उनले यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्ने विश्वाससमेत व्यक्त गरे।
‘विशेष महाधिवेशनका नाममा विधि विधान मिच्ने काम भएको छ, जसले पार्टीलाई कमजोर बनाएको छ,’ देउवाले भने, ‘यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्नेछ भन्नेमा म विश्वस्त छु।’
देउवाले नेपाली कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको टिप्पणी गर्दै पार्टीले मुलुकका ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेको बताएका छन्। ‘नेपाली कांग्रेसले के गर्यो भन्ने बुझ्न २००७ साल अघिको अवस्था हेर्नुपर्छ,’ उनले भने, ‘२००७, २०३६, २०४६ र २०६२/०६३ का सबै परिवर्तनगामी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएका हुन्।’
उनले विगतका राजनीतिक उपलब्धिको अवमूल्यन नगर्न आग्रह गर्दै इतिहासबाट पाठ सिकेर मात्रै सही मार्ग पहिल्याउन सकिने बताए।
मुलुक अहिले राजनीतिक, आर्थिक र सामाजिक रूपमा संकटग्रस्त परिस्थितिबाट गुज्रिरहेको देउवाको भनाइ छ। ‘मुलुकको अवस्था अहिले निकै संवेदनशील छ। जनतामा निराशा छाएको छ, यसलाई हामीले आशामा बदल्नुपर्नेछ,’ उनले भने।
देउवाले संविधानप्रदत्त अधिकार प्राप्तिका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, पार्टीभित्र बृहत्तर एकताको आवश्यकता औँल्याउँदै सबै नेता–कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन्।
‘सबै साथीहरूलाई न्याय हुने र सबैको भावनाको कदर हुने गरी एकता खोज्न आवश्यक छ,’ देउवाले भने, ‘जनताको अधिकार र भूमिकाका लागि म जुनसुकै त्याग गर्न तयार छु।’

