काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले जीवनमै सबैभन्दा धेरै निन्दा र आलोचना खेपेको बताएका छन्।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले जन्मेदेखि अहिलेसम्म आफूले भोगेको निन्दामध्ये पछिल्ला तीन दिनको निन्दा सबैभन्दा ठूलो भएको बताएका हुन्।
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको नेतृत्व र कार्यशैलीप्रति आलोचना भएको थियो। सोही घटनालाई संकेत गर्दै थापाले पछिल्लो तीन दिन आफूविरुद्ध सञ्चारमाध्यमका शीर्ष समाचारसमेत आलोचनाले भरिएको बताए।
उनले भने, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, जानेर नजानेर, यो गएको तीन दिनमा मेरो निन्दा भएको छ।’
थापाले पछिल्ला दिनमा आफूविरुद्ध भएका आलोचनालाई व्यक्तिगत रूपमा मात्र नलिएको संकेत गर्दै राजनीतिक जीवनमा आलोचना र निन्दा स्वाभाविक प्रक्रिया भएको धारणा राखे।
कांग्रेसभित्र सभापति थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच पछिल्लो समय नेतृत्व तथा पार्टी सञ्चालनका विषयमा मतभेद देखिँदै आएको छ। देउवा पक्षको राष्ट्रिय भेलामा थापाको नेतृत्वमाथि प्रश्न उठाइएपछि कांग्रेसको आन्तरिक राजनीति थप चर्चामा आएको हो।
थापाले भने पछिल्ला तीन दिनमा आफूले भोगेको आलोचनालाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण अनुभवका रूपमा प्रस्तुत गरेका छन्।

