काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ का विभिन्न व्यवस्थाबमोजिम प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि संसदमा उपस्थित हुन रुलिङ गरेका हुन् ।
गत १७ जेठमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रिय हित र नेपालको भौगोलिक अखण्डताविरुद्ध रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै आएका थिए ।
यही विषयलाई लिएर विपक्षी सांसदहरूले लामो समयदेखि प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै आएका थिए ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै सांसदहरूले गरिरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।
उनले नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन निर्देशन दिएका हुन् ।
प्रतिनिधिसभा नियमावलीअनुसार महिनामा एकपटक प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ । तर, प्रधानमन्त्री शाहले अहिलेसम्म नियमावलीले तोकेको प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाएका छैनन् ।
प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन विपक्षी दलहरूले सभामुखसँग पटक–पटक रुलिङको माग गर्दै आएका थिए ।

