अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान होर्मुज जलडमरूमध्यलाई अमेरिकी भूभागका रूपमा देखाइएको नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उक्त नक्सामा होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर उल्लेख गरिएको छ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा नक्सा पोस्ट गर्दै यसअघि आफूले सार्वजनिक गरेको होर्मुज जलडमरूमध्यलाई अमेरिकामा गाभ्ने आह्वानलाई थप जोड दिएका छन्।
विश्वमा प्रवाह हुने कुल तेलमध्ये करिब २० प्रतिशत तेल होर्मुज जलडमरूमार्ग हुँदै जाने गर्छ। यो जलडमरूमध्य इरान र ओमानको क्षेत्रीय जलक्षेत्रमा पर्छ।
ट्रम्पले गत शुक्रबार चुनावी शैलीको एक कार्यक्रममा पहिलोपटक होर्मुज जलडमरूमध्यलाई अमेरिकामा गाभ्ने विचार सार्वजनिक गरेका थिए। उनले त्यतिबेला आफूले उक्त जलमार्गलाई ‘छिट्टै अमेरिकी भूभाग घोषणा गर्ने’ बताएका थिए।
सोमबार ओभल अफिसमा पत्रकारहरूले उक्त भनाइबारे प्रश्न गर्दा ट्रम्पले आफूलाई यो विचार मन परेको बताए। उनले अमेरिकाले यसअघि नै उक्त जलमार्ग नियन्त्रण गरिरहेको दाबीसमेत गरेका थिए।
इरानलाई संकेत गर्दै ट्रम्पले उक्त जलमार्गमा बारुदी सुरुङ राखिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले होर्मुज जलडमरूमार्गबाट हरेक साता लाखौँ ब्यारेल तेल बाहिर निकालिरहेको र तेलको मूल्य अझै घट्ने बताएका छन्।
इरानको कडा प्रतिवाद
इरानले ट्रम्पको आह्वानको कडा प्रतिवाद गरेको छ। इरानले होर्मुज जलडमरूमध्यलाई अमेरिकामा गाभ्ने ट्रम्पको भनाइलाई ‘भ्रमपूर्ण’ भनेको छ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जाल एक्समा होर्मुज जलडमरूमध्य इरानी रहेको र रहने बताएका छन्। उनले उक्त जलडमरूमध्य इरानको आदेशमा मात्र बन्द र खुला हुने दाबी गरेका छन्।
घरिबाबादीले अमेरिकाले आफ्नो पराजयको वास्तविकता स्वीकार नगरेसम्म र आफ्ना ‘भ्रम’ मा रमाइरहेसम्म इरानले उक्त महत्वपूर्ण जलमार्गमा नाकाबन्दी जारी राख्ने बताएका छन्।

