काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया टुंगिएको छ । नेकपा एमालेका नेता किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए ।
तीन दलका ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी पेस गरेपछि प्रदेश प्रमुख देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
नयाँ सत्ता समीकरणअनुसार मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले ६ जना मन्त्रीसमेत नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नयाँ मन्त्रिपरिषद्मा एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ, नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री बनेका छन् ।
भरतबहादुर केसीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक मन्त्रालय, राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्र प्रजापतिले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय सम्हाल्नेछन् ।
एमालेका ज्ञानबहादुर तामाङलाई भने बिनाविभागीय मन्त्री बनाइएको छ । बागमती प्रदेशमा रहेका आठ मन्त्रालयमध्ये कृषि, पशुपन्छी, वन तथा वातावरण र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री थापा आफैंले राखेका छन् ।
एमाले, नेकपा र राप्रपाबीचको सहकार्यमा बनेको नयाँ सत्ता समीकरणले प्रदेश सरकार सञ्चालनको जिम्मेवारी सम्हालेसँगै यसअघि जारी सरकार गठनको अन्योलसमेत अन्त्य भएको छ ।

