- भदौ ७ देखि १४ गतेसम्म तय गरिएको रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ।
- नयाँ मिति तय भएको छैन, असोजतिर भ्रमण हुन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ।
- यसैबीच पाँच सदस्यीय संसदीय टोली भने भदौ ८ गते सातदिने चीन भ्रमणमा जाने भएको छ।
काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। भदौ पहिलो साता चीन जाने गरी भइरहेको तयारी रोकिएको हो।
यसअघि लामिछाने भदौ ७ देखि १४ गतेसम्म चीन भ्रमणमा जाने तयारी थियो। भ्रमणका क्रममा उनले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम थियो।
प्रतिनिधिमण्डल बेइजिङ हुँदै तिब्बतको कैलाश मानसरोवरसम्म जाने तालिका तय गरिएको थियो।
स्रोतका अनुसार चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने र देशभित्रको परिस्थिति पनि केही परिवर्तन भएकाले तत्कालका लागि भ्रमण स्थगित गरिएको हो।
भदौका लागि तय भएको भ्रमण रोकिए पनि लामिछाने असोज अर्थात् मध्य सेप्टेम्बरतिर चीन जान सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ। यद्यपि नयाँ भ्रमण मिति अहिलेसम्म निश्चित भएको छैन।
लामिछाने निकट एक नेताले भ्रमण पूर्ण रूपमा रद्द भएको भन्न नमिल्ने तर अब कहिले भ्रमण हुन्छ भन्ने निश्चित नभएको बताएका छन्।
यसैबीच संघीय संसद्का पाँच सदस्यीय टोली भने सातदिने भ्रमणका लागि चीन जाने भएको छ।
बेइजिङमा आयोजना हुने विकासशील देशका सांसदहरूको आठौँ सेमिनारमा सहभागी हुन टोली भदौ ८ गते चीन जाने कार्यक्रम छ।
प्रतिनिधिसभामा रास्वपाका सांसद कमल सुवेदीले नेतृत्व गर्ने टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी र किरण बाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटी तथा संघीय संसद्का उपसचिव शारदा भण्डारी सहभागी हुनेछन्।

