काठमाडौं । धितोपत्र तथा बीमासम्बन्धी कसूरमा फरार रहेका चार जना माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ का ४२ वर्षीय सुभाष पौडेल रहेका छन्। उनी हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका सदस्य हुन्।
त्यस्तै, ललितपुर महानगरपालिका–२ की ४१ वर्षीया सुनिता महर्जन, काठमाडौं महानगरपालिका–१६ का ४५ वर्षीय अनुप मालाकार र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ की ३९ वर्षीया सुनिता श्रेष्ठ पनि पक्राउ परेका छन्।
महर्जन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सकी सञ्चालक सदस्य हुन् भने मालाकार र श्रेष्ठ नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य रहेको प्रहरीले जनाएको छ।
सीआईबीका अनुसार उनीहरूमाथि धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा बीमा ऐन, २०७९ अन्तर्गतका कसूरमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणबाट प्राप्त प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा सीआईबीले यस विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा सम्बन्धित कसूरमा फरार रहेका चारै जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका चारै जनालाई मंगलबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ। उनीहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

