काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढी र पहिरोपछि उद्धार तथा राहतका लागि स्वदेशी तथा विदेशी टोलीहरू तीव्र रूपमा परिचालन भएका छन्। विपद्को कठिन घडीमा नेपाललाई सहयोग गर्न विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरूले उद्धार टोली, औषधि, आश्रय सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
अन्तर्राष्ट्रिय सहयोगको समन्वय गरिरहेको संयुक्त राष्ट्रसङ्घले आफ्ना विभिन्न नियोगमार्फत उद्धार तथा राहत कार्य अघि बढाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरू प्रभावित क्षेत्रमा पुगेर औषधिजन्य सामग्री, पाल तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेका छन्। उक्त सामग्रीले करिब १० हजार मानिसलाई तीन महिनासम्म सहयोग पुग्ने राष्ट्रसङ्घले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला प्रमुख टम फ्लेचरले नेपालमा भएको विपद्लाई अत्यन्तै हृदयविदारक घटना भन्दै तत्काल सहयोग परिचालन गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत नागरिकको ज्यान जोगाउन अत्यावश्यक स्वास्थ्य उपचार, आवास र खानेपानीको व्यवस्था गर्न राष्ट्रसङ्घीय आपत्कालीन कोष (सीइआरएफ) बाट २० लाख अमेरिकी डलर तत्काल छुट्याइएको जानकारी दिएका छन्।
राष्ट्रसङ्घका अनुसार सेभ द चिल्ड्रेनले नुवाकोटमा आफ्ना कर्मचारी परिचालन गर्न सुरु गरिसकेको छ। त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले २०० वटा आपत्कालीन आश्रय प्याकेज प्रभावित क्षेत्रतर्फ पठाएको छ।
बाढी तथा पहिरोका कारण सडक र सञ्चार सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा उद्धार तथा राहत पुर्याउन भने चुनौती कायमै छ। सम्पर्कविहीन भएका तथा जोखिममा रहेका नागरिकसम्म पुग्न उद्धारकर्मीहरूले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमसँग जुधिरहेका छन्।
अमेरिका, क्यानाडा, भारत र युरोपेली युनियनको ऐक्यबद्धता
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालमा भएको विपद्प्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै, भारत र युरोपेली युनियनले पनि नेपालमा भइरहेको राहत तथा उद्धार अभियानमा सहयोग गर्ने घोषणा गरेका छन्।
नेपालमा नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मी उद्धार तथा राहतमा निरन्तर खटिरहेका छन्।
यसैबीच खराब मौसम र सडक अवरोधका कारण केही ढिलाइ भए पनि मुख्य प्रभावित क्षेत्र मानिएको केरुङ नाकामा बिहीबार चिनियाँ आपत्कालीन उद्धार टोली पुगेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा मानवीय संकट गहिरिँदै गएसँगै अन्तर्राष्ट्रिय समुदायको सहयोग र उद्धार टोलीको परिचालनले खोजी, उद्धार तथा राहत अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

