काठमाडौं। रसुवाको भोटेकोशी बाढीका कारण अवरुद्ध बनेको कृष्णभिर सडक पुनर्स्थापनाको काम दशौँ दिनमा पुगेको छ। सडकलाई कम्तीमा दुई लेनमा सञ्चालनयोग्य बनाउने लक्ष्यसहित ग्रेडिङ र सतहलाई अन्तिम रूप दिने काम तीव्र गतिमा भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ।
सडक डिभिजन भरतपुरले आइतबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सडकको सतह तयार पार्ने कामसँगै ग्राभेल बिछ्याउने तथा सब-सर्फेस नाली निर्माणको काम पनि अघि बढाइएको छ।
रसुवा बाढीका कारण क्षतिग्रस्त सडक पुनर्स्थापना गरी यात्रु तथा सवारीसाधनको आवागमन सकेसम्म छिटो सहज र सुरक्षित बनाउने लक्ष्यसहित प्राविधिक टोली फिल्डमै खटिएको इन्जिनियर धिरज ढकालले जानकारी दिएका छन्।
“सडकलाई ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा निरन्तर अगाडि बढिरहेको छ,” ढकालले उल्लेख गरेका छन्।
नागढुंगा-मुग्लिङ सडक योजना पश्चिम खण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा ग्राभेल र नाली निर्माणको कामसमेत समानान्तर रूपमा भइरहेको छ।

