काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध कृष्णभीर सडक पुनर्स्थापनाको काम महत्वपूर्ण चरणमा पुगेको छ। सडक सञ्चालनको परीक्षणका क्रममा दुवैतर्फबाट सवारीसाधन सफलतापूर्वक पार गराइएको छ।
सडक पुनर्स्थापनामा खटिएको टोलीका अनुसार काठमाडौंबाट चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन परीक्षणका रूपमा पार गराइएको हो।
त्यसैगरी चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पार गराइएको छ।
यसअघि सडकलाई ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सञ्चालनयोग्य बनाउने काम भइरहेको थियो। ग्राभेल बिछ्याउने र सब-सर्फेस नाली निर्माणको कामसमेत सँगसँगै अघि बढाइएको थियो।
परीक्षणका रूपमा सवारीसाधन सफलतापूर्वक पार गराइए पनि सडक पूर्ण रूपमा नियमित सवारी आवागमनका लागि खुला गरिएको घोषणा भने भइसकेको छैन।
सडकलाई सुरक्षित रूपमा पूर्ण सञ्चालनमा ल्याउन बाँकी काम तीव्र गतिमा भइरहेको जनाइएको छ।

