काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने बताएका छन्।
आइतबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै अध्यक्ष ओलीले जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेकाले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसकिने बताएका हुन्।
उनले नेपाली जनताको सङ्घर्ष निरन्तर उपलब्धितर्फ अघि बढिरहेको उल्लेख गर्दै राजनीतिक परिवर्तनको यात्रामा विभिन्न समयमा अवरोध आए पनि त्यसलाई स्थायी रोकावटका रूपमा लिन नहुने बताए।
ओलीले राणा शासन, पञ्चायत व्यवस्था र अधिनायकवादी सोचले विभिन्न समयमा परिवर्तनको यात्रामा अवरोध पुर्याए पनि जनताको सङ्घर्ष नरोकिएको बताए। राणा शासन १०४ वर्ष चलेको, पञ्चायत व्यवस्था करिब ३० वर्ष रहेको तथा तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते प्रत्यक्ष शासनको प्रयास गरे पनि २०६३ वैशाख ११ गते त्यसको अन्त्य भएको उनले स्मरण गरे।
त्यसपछि २०६५ जेठ १५ गते राजतन्त्र नै अन्त्य भएको उल्लेख गर्दै ओलीले राजनीतिक परिवर्तनलाई उल्ट्याउने प्रयास लामो समय सफल हुन नसक्ने दाबी गरे।
‘हाम्रो सङ्घर्षमा कहिलेकाहीँ अवरोध आएको छ, गति सुस्त भएको छ, अधिनायकवादी सोच र व्यवस्थाले रोकेको छ। राणा शासनदेखि पञ्चायतसम्म र त्यसपछि पनि विभिन्न समयमा हाम्रो यात्रालाई रोक्ने प्रयास भए। तर अहिले जनचेतना जुन स्तरमा पुगेको छ र स्वतन्त्रता तथा परिवर्तनको ऐतिहासिक महत्त्व जनताले जुन रूपमा बुझेका छन्, त्यस अवस्थामा प्रतिगामी वा स्वतन्त्रताविरोधी कदमले लामो समयसम्म टिक्न सम्भव छैन’, ओलीले भने।
उनले अहिलेको जनचेतनाको स्तर र राजनीतिक परिवर्तनको ऐतिहासिक महत्त्व जनताले बुझेका कारण परिवर्तनको यात्रालाई लामो समय रोक्न सम्भव नरहेको बताए।
अध्यक्ष ओलीले समर्थक तथा नागरिकलाई धैर्य गर्न आग्रह गरे पनि निष्क्रिय भएर पर्खेर नबस्न सुझाव दिए। संघर्षबाट पछि हटे उपलब्धि गुम्न सक्ने भन्दै उनले अधिकार र स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउन आग्रह गरे।
‘इतिहासले देखाइसकेको छ। जनताको चेतना र परिवर्तनको चाहनालाई लामो समय रोक्न सकिँदैन। त्यसैले म तपाईंहरूलाई धैर्य गर्न आग्रह गर्छु, तर पर्खेर बस्न होइन। आफ्नो आवाज निरन्तर उठाइरहनुपर्छ’, उनले भने।
ओलीले लक्ष्मीप्रसाद देवकोटाको कविताको भाव उद्धृत गर्दै संघर्षबाट पछि नहट्न आग्रह गरे। ‘नलडी कोही हुँदैन विजेता’ भन्ने भावलाई स्मरण गर्दै उनले ‘गिभ अप’ र ‘ह्यान्ड्स अप’ नगर्न तथा आफ्नो आवाजलाई निरन्तरता दिन आग्रह गरे।

