काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउन ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले भदौ ३० गते जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ।
महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।
निर्वाचन समितिका अनुसार ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाइसकिएको छ। खटिएका निर्वाचन अधिकृतले सम्बन्धित जिल्ला कार्यसमितिसँग समन्वय गरी निर्वाचन प्रक्रियालाई अघि बढाइरहेका छन्।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ।
समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा निर्धारित कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाउन सबै तहका पार्टी संरचना र क्रियाशील सदस्यको सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।

