काठमाडौं। विनाशकारी बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। बिहीबार अर्थात् असोज १ गते बिहान ६ बजेदेखि उक्त खण्ड पूर्ण रूपमा यातायात सञ्चालनका लागि खुला गरिने भएको छ।
त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानबाट क्षतिग्रस्त भएपछि राजमार्गमा यातायात प्रभावित भएको थियो। सडक क्षतिग्रस्त भएपछि वैकल्पिक ट्र्याक निर्माण गरी यातायात पुनः सञ्चालनमा ल्याउने काम अघि बढाइएको थियो।
पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ।
नयाँ ट्र्याकबाट यसअघि परीक्षणका रूपमा सीमित सवारीसाधन सञ्चालन गरिएको थियो। ट्र्याक निर्माणसँगै सडकलाई सवारी सञ्चालनयोग्य बनाउने काम अघि बढाइएपछि अब बिहीबार बिहान ६ बजेदेखि पूर्ण रूपमा सवारी आवागमन खुला गर्ने तयारी गरिएको हो।
पृथ्वी राजमार्ग काठमाडौंलाई चितवन हुँदै देशका पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख सडक मार्ग हो। कृष्णभीरमा सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीको आवागमन प्रभावित हुँदै आएको थियो। पूर्ण रूपमा यातायात खुलेपछि यात्रु आवागमनसँगै मालसामान ढुवानीमा देखिएको अवरोधसमेत कम हुने अपेक्षा गरिएको छ।

