काठमाडौं । रसुवा र नुवाकोटसहितका बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धारका क्रममा चिलिमे हाइड्रोपावरको टनेलबाट थप चारवटा शव र एक मानव अंग फेला परेको छ।
२०८३ भदौ ३१ गते साँझ ६ः३० बजेसम्मको खोज तथा उद्धार अपडेटअनुसार चिलिमे हाइड्रोमा गोताखोरसहितको संयुक्त उद्धार टोलीले टनेलमा ‘ब्रेकथ्रु’ गरी अन्तिम किनारासम्म खोजी गर्दा चार शव र एक मानव अंग फेला पारेको हो। फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।
यसअघि भदौ १५ गते पनि सोही टनेलबाट एक शव र एक मानव अंग फेला परेको थियो। चिलिमे हाइड्रोको टनेलमा जारी खोजीका क्रममा अहिलेसम्म कुल पाँच शव र दुई मानव अंग फेला परेका छन्।
यसैबीच, लाङटाङ जलविद्युत् आयोजनाको टनेलमा विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ। माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनामा पनि टनेल तथा पावर हाउस क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।
नेपाली सेनाका अनुसार हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार १७७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोजी कार्य भइरहेको छ। स्याफ्रुवेशी क्षेत्रमा तीनवटा समूह परिचालन गरिएको छ भने दुर्गम तथा सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा ड्रोनमार्फत राहत सामग्रीसमेत ढुवानी गरिएको छ।
टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा परिचालित रहेको जनाइएको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार ४५ जनाले स्वास्थ्य सेवा लिएका छन्। यससँगै हालसम्म उक्त सेवाबाट ३ हजार ९३४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
यस्तै, बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ शीतलबजारमा सडक खुलाउन कडा चट्टान फुटाउने काम भइरहेको छ। चिलिमे क्षेत्रमा विद्युत् प्रवाहका लागि तार बिछ्याउने कामसमेत गरिएको नेपाली सेनाले जनाएको छ।

