काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएसँगै असोज १ गते बिहीबार बिहान ६ बजेदेखि राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सम्बन्धित निकायहरूको निरन्तर प्रयासपछि कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएकाले पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जनाएको छ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्गको आवागमन अवरुद्ध भएको थियो। सडक आवागमन सुचारु गर्न नयाँ ट्र्याक निर्माण गरिएको हो।
राजमार्ग सञ्चालनमा ल्याउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्बन्धित सडक आयोजना तथा कार्यालय, निर्माण व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सवारी चालक, यात्रु तथा अन्य सरोकारवालालाई जिल्ला प्रशासन कार्यालय धादिङले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
प्रशासनले पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायम रहेकाले सवारी चालक र यात्रुलाई विशेष सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ।
विशेषगरी वर्षा भइरहेको समयमा पहिरो, ढुंगा वा अन्य अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न तथा सुरक्षाकर्मी र सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ।
सडकको अवस्था हेरेर मात्र यात्रा गर्न र यातायात सञ्चालनसम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्नसमेत प्रशासनले आग्रह गरेको छ।

