काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत मिनि एक्साभेटर आयोजनास्थलमा पुर्याइएको छ। मिनि एक्साभेटर पुगेपछि दुईवटा एक्साभेटरको सहायताले आयोजनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ।
आयोजनाको सुरुङमा हराइरहेकाहरूको खोजीका लागि अडिट–३ सुरुङबाट अपस्ट्रिमतर्फ आएको गेग्रानको बहाव रहेको क्षेत्रमा बिहीबार पनि एक्साभेटर प्रयोग गरिएको छ। गेग्रान बगेको दिशाको विपरीततर्फबाट खोजी कार्य जारी राखिएको कम्पनीले जनाएको छ।
यसैबीच, अडिट–३ सुरुङमा हेलिकप्टरमार्फत जेनेरेटर र काट्ने उपकरण (कटिङ सेट) समेत पुर्याइएको छ। खोजी तथा उद्धारका क्रममा आवश्यक उपकरण सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले ती सामग्री आयोजनास्थलमा लगिएको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाले आयोजनाको निर्माण कम्पनी डुसानका उपकरण आयोजनास्थलसम्म ढुवानीका लागि नेपाली सेना तथा सम्बन्धित व्यक्तिलाई सहजीकरण गर्न पत्र पठाएको छ।
खोजी कार्यमा सर्च डग परिचालन गर्ने तयारीसमेत गरिएको छ। हेलिकप्टरमार्फत सर्च डग आयोजनास्थलमा लैजान नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिन आवश्यक पत्र पठाइएको छ। अनुमति प्राप्त भएपछि सर्च डगलाई आयोजनास्थलमा पुर्याएर खोजी कार्य अघि बढाइने तयारी छ।
बाढीपछि आयोजनामा कार्यरत ९३६ जना सम्पर्कमा आइसकेका छन्। आयोजनामा कुल १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए। कोरियाली लगानीमा निर्माण भइरहेको उक्त आयोजनामा अझै सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धारका लागि उपकरण र जनशक्ति परिचालन गरिएको छ।

