काठमाडौँ । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण आगामी ८ देखि १२ असोजसम्म नेपालका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्ले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययनका आधारमा उक्त अवधिमा देशका अधिकांश क्षेत्रमा वर्षा हुन सक्ने बताएका हुन्।
उनका अनुसार उक्त अवधिमा केही स्थानमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने सम्भावना छ। केही पूर्वानुमान मोडेलले ८ देखि १२ असोजसम्म ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने देखाएका छन्। त्यस्तै, केही मोडेलमा निश्चित क्षेत्रमा ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको पोखरेलले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
तर यस्तो वर्षा देशभर समान रूपमा नहुने र केही निश्चित क्षेत्रमा बढी केन्द्रित हुन सक्ने उनको भनाइ छ।
पोखरेलले धेरैवटा मौसम पूर्वानुमान मोडेलको अध्ययनपछि मात्रै उक्त पूर्वानुमान सार्वजनिक गरेको बताएका छन्। उनले पूर्वानुमानको उद्देश्य डर सिर्जना गर्नु नभई सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सहयोग पुर्याउनु रहेको स्पष्ट पारेका छन्।
उनका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्र पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीसम्म मनसुन सकिएसँगै त्यहाँबाट सुख्खा हावा नेपालतर्फ आउने क्रममा छ। उक्त सुख्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको गतिलाई प्रभावित गर्न सक्ने र प्रणाली नेपालतर्फ सर्न सक्ने सम्भावना रहेको उनले बताएका छन्।
त्यसको प्रभावस्वरूप नेपालका केही क्षेत्रमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने मौसमविद्हरूले सुझाव दिएका छन्। सम्भावित जोखिमयुक्त क्षेत्रमा सूचना प्रवाह, उद्धार तथा विपद् व्यवस्थापनका लागि आवश्यक तयारी समयमै गर्नुपर्ने उनीहरूको भनाइ छ।

