काठमाडौं । आगामी असोज ९ गतेदेखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
देशका अधिकांश भूभागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासमा विकसित न्यूनचापीय प्रणाली अहिले बंगालको खाडीको मध्य क्षेत्रमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने भएकाले बुधबारदेखि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि थप बढ्ने अनुमान गरिएको छ।
भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। विशेषगरी सहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहेको तथा खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ। नदी तथा खोलानाला आसपास भइरहेका निर्माण कार्यमा समेत जोखिम बढ्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।


