काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह असोज ७ गते दोहाबाट न्युयोर्क प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीले उनको स्वागत गर्नेछन्।
असोज ८ गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहा हुँदै नेपाल फर्कनेछन्। उनी असोज १० गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ।

