काठमाडौं । असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पूर्वतयारी गर्न निर्देशन दिएको छ।
गृह सचिव केदारनाथ शर्माको आतिथ्यमा भएको छलफलमा आगामी वर्षाको सम्भावित अवस्था, जोखिमयुक्त जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा सर्वसाधारणलाई प्रवाह गर्नुपर्ने सूचना र आवश्यक परे सवारी आवागमन बन्द गर्नुपर्ने अवस्थालगायतका विषयमा छलफल भएको हो।
छलफलमा गृह मन्त्रालय, मौसम विज्ञान विभाग, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय, नेपाल पर्यटन बोर्ड तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका निकायका प्रतिनिधिको सहभागिता थियो।
काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भने भर्चुअल माध्यमबाट छलफलमा सहभागी भएका थिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम देखिएका क्षेत्रमा विशेष सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारीमा रहन आग्रह गरेका छन्।
सम्भावित भारी वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, पूर्वसूचना प्रवाह तथा आवश्यक अवस्थामा सवारी आवागमन रोक्नेसहितका उपायबारे छलफल गरिएको छ।
गृह मन्त्रालयले सम्भावित विपद्का घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक तयारी अवस्थामा रहनसमेत जोड दिएको छ।

