निरन्तर भइरहेको वर्षाका कारण पहिरो र सडक कटान हुँदा देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्। राजधानी काठमाडौं जोड्ने प्रमुख राजमार्गहरू वर्षाजन्य विपद्का कारण प्रभावित भएपछि सवारी आवागमन ठप्प तथा प्रभावित भएको छ।
धादिङ प्रहरीले दिएको जानकारीअनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ। तीमध्ये कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी रूपमा अवरुद्ध छ भने अन्य स्थानमा एकतर्फी रूपमा सवारी प्रभावित भएको छ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
यस्तै, लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पनि अनिश्चितकालका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सवारी आवागमन बन्द गरिएको जनाएको छ।
बीपी राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ चारसयवेशी, रोशी–८ गिम्दीवेशी र रोशी–११ माम्तीमा पहिरो खसेको छ। चौकीडाँडामा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको छ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमै रोकिएको छ। काभ्रेभञ्ज्याङ र भकुण्डेमा पनि सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ।
यसैगरी, कान्तीलोकपथसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं–हेटौँडा आवतजावत प्रभावित भएको छ।

