- पर्वत, नवलपरासी पूर्व, पाल्पा, भरतपुर र धनुषाका बाढी, डुबान तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना खोज तथा उद्धारमा परिचालित भएको छ।
- नारायणी नदीको बहाव बढेपछि मध्यबिन्दु, सुस्ता र भरतपुरका जोखिमयुक्त क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ।
- तनहुँको घाँसीकुवामा पहिरो र लेदोका कारण अवरुद्ध पृथ्वी राजमार्गको अवरोध हटाएर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ।
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा सडक खुलाउने कार्य जारी राखेको छ।
सेनाका अनुसार पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदी बस्तीमा पसेर घरहरू बगाएको खबरपछि नयाँ रणभिम गुल्मबाट सैनिक टोली परिचालन गरिएको छ। टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्नुका साथै सरसामान स्थानान्तरणमा सहयोग गरिरहेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बहाव बढेर बाढी तथा डुबानको जोखिम भएपछि नं. २ वन तथा पर्यावरण सुरक्षा गणको टोली परिचालन गरिएको छ। सुस्ता गाउँपालिका–५ मा पनि डुबानको जोखिम देखिएपछि गोरखदल गणको सुरक्षा बेस त्रिवेणीबाट खटिएको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिरहेको सेनाले जनाएको छ।
पाल्पाको माथागढी गाउँपालिका–३ लेन्दीमा पहिरोले घर पुरेको खबरपछि दि फेमस महिन्द्र दल गणको टोली खोज तथा उद्धारमा जुटेको छ। धनुषाको मिथिला नगरपालिका–११ आपगाछी, चुरेमा पनि पहिरोले घर पुरिएको सूचनापछि सैनिक टोली उद्धारका लागि परिचालन भएको छ।
यस्तै, नारायणी नदीको सतह बढेपछि भरतपुर महानगरपालिका–१ देवघाट र वडा नं. ३ बाह्रघरेमा नयाँ सबुज गणको टोली स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न खटिएको छ।
तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदोका कारण अवरुद्ध सडक भने काली भञ्जन गण (ई) को टोलीले स्थानीय निकायसँगको सहकार्यमा खुलाएको छ। सेनाका अनुसार उक्त सडकखण्ड अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।

