काठमाडौँ–प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, हावाहुरी, डुबान र चट्याङबाट हालसम्म २१ जनाको मृत्यु भएको बताएका छन् ।
प्रधानमन्त्री शाहका अनुसार विपद्का घटनामा पाँच जना बेपत्ता भएका छन् भने पाँच जना घाइते भएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उनले असोज ८ गतेदेखि आइतबारसम्मको विवरणअनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाले ज्यान गुमाएको जानकारी दिए ।
उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । घाइते पाँच जनाको निःशुल्क उपचारको व्यवस्था मिलाइएको र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको उनले बताए ।
प्रधानमन्त्रीका अनुसार बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन् । गाउँसँगै सहरका विभिन्न क्षेत्रसमेत डुबानमा परेका छन् । विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायत दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधारमा क्षति पुगेको उनले बताए ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिबाट नागरिकलाई माथि उठाउन सरकार क्रियाशील रहेकै बेला पुनः अर्को विपद्को सामना गर्नुपरेको प्रधानमन्त्री शाहको भनाइ छ । हालसम्म पाँच जना नागरिक बेपत्ता भएको विवरण प्राप्त भएको र मनाङमा हिमपहिरोमा परेर मानिस बेपत्ता भएको सूचना आएपछि त्यसबारे विवरण सङ्कलन भइरहेको उनले बताए ।
प्रधानमन्त्री शाहले संकटको अवस्थामा नागरिकको जीवन रक्षा र उनीहरूलाई सुरक्षित महसुस गराउनु सरकारको पहिलो कर्तव्य रहेको बताए । बेपत्ताको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मी अहोरात्र खटिरहेको उनले बताए ।
बाढीपहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनले बताए । नागरिकको सुरक्षाका लागि विभिन्न माध्यमबाट सूचना तथा सन्देश प्रवाह गर्नुका साथै सुरक्षाकर्मीले स्थलगत रूपमा माइकिङ गरिरहेको उनले बताए ।
सरकारले जारी गरेको पूर्वसूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा गएका यात्रु सुरक्षित फर्कन सकेको र विद्यार्थीसमेत सुरक्षित रहेको प्रधानमन्त्री शाहले बताए । कुनै पनि नागरिक संकटमा पर्दा तत्काल उद्धार गर्न सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको उनले बताए ।
बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगाएर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको प्रधानमन्त्री शाहले बताए । बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएका छन् ।
सडकमा पहिरो जाने र सडक भासिने समस्या देखिएको तथा भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको उनले बताए । कालीगण्डकीको पक्की पुलसमेत बगेको उल्लेख गर्दै क्षतिग्रस्त सडकलाई द्रुत गतिमा मर्मत गरी यातायात पुनः सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
प्रधानमन्त्रीका अनुसार बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायतबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ ।
त्यसमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेका कारण पूर्ण रूपमा ठप्प भएका छन् । बाढीपहिरो तथा सम्भावित जोखिमलाई ध्यानमा राखी सुरक्षात्मक उपायस्वरूप ६९५ दशमलव २ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन बन्द गरिएको उनले बताए ।
विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिए ।
देशका ठूला नदीमा पानीको बहाव बढेपछि केही स्थानमा आवागमन रोकिएको छ । महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ । नागरिकको सुरक्षालाई ध्यानमा राखी समन्वय गरेर पुलको दुवैतर्फ सवारीसाधन सञ्चालनमा रोक लगाइएको उनले बताए ।
तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै प्रधानमन्त्रीले सेती, नारायणी र कमला नदीमा समेत पानीको सतह निकै बढेकाले विशेष सजगता अपनाइएको बताए । कुलेखानी क्षेत्रमा पनि यातायात रोकिएको उनले बताए ।
यसैगरी, हुरीसहितको वर्षाका कारण किसानको धानबाली, तरकारी तथा अन्य बालीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री शाहले बताए । विपद्को जोखिम अझै कायमै रहेको भन्दै नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरे ।
उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकटमा परे निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
विपद्का बेला भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारीमा संलग्न हुनेमाथि सरकारले निगरानी राखिरहेको उनले बताए । पीडितलाई थप पीडा दिने कुनै पनि कार्य हुन नहुने भन्दै संकटका बेला फैलाइने भ्रामक प्रचार अस्वीकार्य रहेको उनको भनाइ छ ।

