काठमाडौँ–नेपाली कांग्रेसको संस्थापनइतर समूहले गर्ने भनिएको १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिन शुल्क निर्धारण गरिएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गर्दै डा. शशांक कोइराला नेतृत्वको १५औँ महाधिवेशन आयोजक समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्मका विभिन्न पदमा उम्मेदवारी शुल्क तोकेको हो ।
आयोजक समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार पारेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’मा आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित र संस्थागत गर्ने उद्देश्यले विभिन्न तहका पदमा उम्मेदवारी शुल्क निर्धारण गरिएको उल्लेख छ ।
निर्देशिकाको अनुसूची २५ अनुसार वडा कार्यसमितिको सभापतिका लागि २५० रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि १५० रुपैयाँ तथा सदस्यका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
गाउँपालिका कार्यसमितिको सभापतिका लागि १ हजार रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि ५०० रुपैयाँ तथा सदस्यका लागि २५० रुपैयाँ शुल्क तोकिएको छ । नगरपालिका कार्यसमितिको सभापतिका लागि २ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ, सहसचिवका लागि १ हजार रुपैयाँ र सदस्यका लागि ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
महानगरपालिका र उपमहानगरपालिका कार्यसमितिको सभापतिका लागि २ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ ।
प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि २ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ३ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि २ हजार ५०० रुपैयाँ, सहसचिवका लागि २ हजार रुपैयाँ तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
निर्देशिकाअनुसार प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५०० रुपैयाँ, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार रुपैयाँ, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० रुपैयाँ तथा केन्द्रीय महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
जिल्ला कार्यसमितिको सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ३ हजार ५०० रुपैयाँ, सहसचिवका लागि ३ हजार रुपैयाँ तथा सदस्यका लागि १ हजार ५०० रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ ।
प्रदेश कार्यसमितिको सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार रुपैयाँ तथा सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
केन्द्रीय कार्यसमितिको सभापतिका लागि ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको निर्देशिकामा उल्लेख छ ।

