मनाङ । मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा आइतबार गएको हिमपहिरोमा परेर हराइरहेकामध्ये थप दुई जनाको शव फेला परेको छ। उद्धार टोलीले आज खोजतलासका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ।
आइतबार बिहान हिमलुङ बेसक्याम्पमा हिमपहिरो जाँदा १४ जना बेपत्ता भएका थिए। तीमध्ये छेवी भोटे र पासाङ भोटेको शव यसअघि नै फेला परेको थियो। उनीहरूको शव पोस्टमार्टमका लागि आज काठमाडौं ल्याइएको छ।
आज गएको उद्धार टोलीले हिमपहिरो प्रभावित क्षेत्रमा थप दुई जनाको शव फेला पारेको हो। यससँगै हालसम्म हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुईवटा टुरिस्ट कम्पनीबाट हिमलुङ क्षेत्रमा बेसक्याम्प निर्माणका लागि गएका २७ जना कामदार हिमपहिरोमा परेका थिए। तीमध्ये ११ जना हिजै सकुशल सदरमुकाम फर्किएका छन्।
बाँकी १२ जनाको अवस्था अझै अज्ञात रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

