काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलाका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्।
कुशल भुर्तेल भने टोलीमा परेका छैनन्।
नेपालले यही अक्टोबर ७ देखि ओमानमा लिग–२ को अन्तिम शृंखला खेल्दैछ। विश्वकप लिग–२ को शीर्ष चारमा पर्न नेपाललाई ओमानमा हुने खेलहरू महत्वपूर्ण छन्।
लिग–२ को तालिकामा नेपाल अन्तिमबाट दोस्रो स्थानमा छ। नेपालले अहिलेसम्म ३२ खेल खेल्दा ११ खेलमा जित र १९ खेलमा हार बेहोरेको छ। नेपालले २४ अंक जोडेको छ।
तालिकाको शीर्ष स्थानमा स्कटल्यान्ड छ। स्कटल्यान्डले ३६ खेलबाट ४५ अंक जोडेको छ। उसले १९ खेल जित्दा १० खेलमा हार बेहोरेको छ।
त्यस्तै अमेरिका ३२ खेलबाट ४३ अंकसहित दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स ३८ अंकसहित तेस्रो, ओमान ३१ अंकसहित चौथो, नामिबिया २८ अंकसहित पाँचौँ र क्यानडा २५ अंकसहित छैटौँ स्थानमा छन्।
नेपाल २४ अंकसहित सातौँ र यूएई १८ अंकसहित आठौँ स्थानमा छन्।
लिग–२ मा शीर्ष चारमा रहने टोलीले विश्वकप छनोटको अर्को चरणमा स्थान बनाउने भएकाले ओमानमा हुने अन्तिम शृंखला नेपालका लागि निर्णायक बनेको छ।

