काठमाडौं । दसैँमा घर फर्किने यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा असुल्ने यातायात व्यवसायी तथा सवारीसाधनमाथि कारबाही हुने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा सरकारले निर्धारण गरेको भाडादरभन्दा बढी रकम नलिन यातायात व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिएको छ। महासंघका महासचिव डेकनाथ गौतमले तोकिएको भाडादरभन्दा बढी रकम लिएको पाइएमा सम्बन्धित सवारीसाधनमाथि कारबाही हुने बताए।
दसैँलाई लक्षित गर्दै सरकारले असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ।
यात्रु तथा मालवाहक सवारीसाधनको आवागमनलाई व्यवस्थित, सहज र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच समन्वय गरी अग्रिम टिकट बुकिङको व्यवस्था मिलाइएको हो।
महासंघले सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा काठमाडौंको गोंगबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन जारी गरेको जनाएको छ। अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाउनुपर्नेछ।
त्यस्तै, यात्रुसँग शिष्ट व्यवहार गर्दै सहज र सुरक्षित रूपमा टिकट उपलब्ध गराउनसमेत कर्मचारीलाई निर्देशन दिइएको छ।
दसैँको चाप व्यवस्थापन गर्न असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरसहित ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने आवागमनमा रोक नलगाइने व्यवस्था गरिएको छ।
यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि कात्तिक १० गतेसम्म देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ। सडकको भौगोलिक अवस्था तथा विशेष प्रकृतिका कारण निश्चित आकार र प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेको प्रतिबन्ध भने यथावत् रहने महासंघले जनाएको छ।
काठमाडौं उपत्यकाका प्रमुख प्रवेश नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षलाई थप प्रभावकारी बनाउन यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्ने भएको छ। महासंघले पनि गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा प्रतिनिधि तथा कर्मचारी परिचालन गरी यात्रु सहजीकरणको जिम्मेवारी तोकेको जनाएको छ।
यसैबीच, दसैँमा लामो दूरीको यात्रा गर्ने यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधनको फिटनेस परीक्षणलाई प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी परिचालन गरी गोंगबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ।
महासंघले दसैँको समयमा यात्रुलाई सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउन व्यवसायी, कर्मचारी तथा सम्बन्धित निकायलाई जिम्मेवार भएर काम गर्न आग्रह गरेको छ।

