गोर्खाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले घर तथा पुललगायतका भौतिक संरचनामा क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका–६ मा पहिरोले थुनिएको खोला एक्कासि बग्दा ठूलो बाढी आएको स्थानीयले बताएका छन्।
बाढीले सिर्दिबासस्थित जगत क्षेत्रमा घरहरू बगाएको छ। चुमनुब्री गाउँपालिका–३ अन्तर्गत न्याक्चेत र फिलिम बजार जोड्ने पुलसमेत बगाएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको उनले बताएका छन्।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्रकुमार मिश्रका अनुसार आइतबार बिहान ४ बजेर ३५ मिनेटमा ठूलो बाढी आएको हो। चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले पहिरोले थुनिएको खोला एकैपटक बग्दा बाढी आएको जानकारी दिएका छन्।
उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा तथा पर्यटक सुरक्षित स्थानतर्फ भागेका थिए। बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्तीहरू जोखिममा परेका छन्।
गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको बताएका छन्। उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरसमेत परिचालन गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनले बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले बूढीगण्डकीमा आकस्मिक बाढी आएको भन्दै मोबाइल सन्देशमार्फत सतर्क रहन आग्रह गरेको छ। स्थानीय प्रशासनले पनि नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेको छ।
गृहमन्त्री गुरुङले आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छ

