- नयाँ कक्षमा १६ आईसीयू, एक आइसोलेसन आईसीयू र आठ सीसीयू शैया।
- यसअघि सञ्चालनमा रहेका १० आईसीयू शैयासहित कुल क्षमता ३५ पुग्यो।
- शैया अभावले बिरामी अन्यत्र पठाउनुपर्ने अवस्था घट्ने प्रतिष्ठानको अपेक्षा।
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैयाको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ। यससँगै अस्पतालको सघन उपचार सेवाको कुल क्षमता ३५ शैया पुगेको प्रतिष्ठानले जनाएको छ।
घटस्थापनाको अवसरमा आइतबार सुरु गरिएको नयाँ कक्षमा १६ शैयाको आईसीयू, एक शैयाको आइसोलेसन आईसीयू र आठ शैयाको सीसीयू समावेश छन्। अस्पतालमा यसअघि १० शैयाको आईसीयू सञ्चालनमा थियो।

प्रतिष्ठानले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएको जानकारीअनुसार उपकुलपति प्रा. डा. नारायण सिंह गुरुङ, डीन सहप्रा. डा. डेविड श्रेष्ठ र निर्देशक सहप्रा. डा. झपिन्द्र पोखरेलको उपस्थितिमा नयाँ कक्ष शुभारम्भ गरिएको हो।
सेवा विस्तारपछि सघन उपचार आवश्यक पर्ने बिरामीलाई शैया अभावका कारण अन्यत्र पठाउनुपर्ने अवस्था तत्कालका लागि नआउने प्रतिष्ठानले विश्वास व्यक्त गरेको छ।


