काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीपछि पाँच जना सम्पर्कविहीन भएका छन् भने ४७ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार जारी गरेको प्रेस नोटअनुसार खोज तथा उद्धार कार्यका लागि ४३७ सुरक्षाकर्मी र नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएका छन्।
प्राधिकरणका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि लेदोसहितको बाढी आएको हो। बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उहिलुङ निवासी भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष सम्पर्कविहीन भएका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। थप ५० जना प्रहरीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। नेपाली सेनाको उद्धार टोलीले हालसम्म ४७ जनालाई सुरक्षित स्थानमा पुर्याएको छ।
बाढीका कारण गोरखाको धार्चे गाउँपालिका–३ सल्लेरीस्थित टाइम्स इनर्जी प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ। उक्त क्षेत्रमा कम्पनीका संरचना तथा आसपासका सातदेखि आठवटा घर बगाएको जनाइएको छ। बाढीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प तथा केही निर्माण उपकरणसमेत बगाएको छ।
बाढीले विभिन्न स्थानका पुल तथा पूर्वाधारमा समेत क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र माछाखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। त्यस्तै, सोतीमा आरुघाट गाउँपालिका–२ र ३ जोड्ने फलामे पक्की पुल पनि बाढीले बगाएको प्राधिकरणले जनाएको छ।
आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भागमा समेत क्षति पुगेको छ। माछाखोलाको तल्लो बस्तीमा बाढी पसेपछि २० देखि २२ वटा घर जोखिममा परेका छन्। बाढीका कारण दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत् पोलमा पनि क्षति पुगेको छ।
घटनाको कारण पहिचान गर्न ड्रोन तथा तीन जना भूगर्भविद्को टोली परिचालन गरिएको छ। त्यस्तै, सडक सञ्चालन र बेलिब्रिज निर्माणको सम्भाव्यताबारे अध्ययन गर्न सम्बन्धित विभागका महानिर्देशकसहितको टोली खटाइएको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा सडक तथा हवाईमार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ। उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि गोरखा, लमजुङ र तनहुँका द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्म नदी किनार तथा जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै, जोखिमयुक्त पुल तथा सडक प्रयोग नगर्न र सम्भावित जोखिमप्रति सतर्क रहन पनि अनुरोध गरेको छ।

