काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्दै गएको छ । घटस्थापनादेखि मंगलबारसम्म १ लाख ९ हजार ६३६ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा १७ हजार १३९ वटा सवारीसाधनमार्फत यात्रुहरू उपत्यकाबाहिरिएका हुन् । दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि प्रमुख नाकामा यात्रुको चहलपहल बढेको छ ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये ४१ हजार ९४६ जना महिला र ६७ हजार ६९० जना पुरुष छन् । दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उनले बताए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।
दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको काफ्लेले बताए । उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको छ ।
‘यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो,’ उनले भने ।
चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने उनले बताए । यात्रु र सवारी चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।
मुख्य सडकमा यातायात सञ्चालन भइरहे पनि दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्दा यात्रा समय लम्बिन सक्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बताए । यात्रुले गन्तव्यसम्म पुग्न पर्याप्त समय छुट्याएर यात्राको योजना बनाउनुपर्ने उनको सुझाव छ ।
‘दसैँका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै उपत्यकाबाट बाहिरिने सडक तथा सार्वजनिक यातायातमा थप चाप पर्ने देखिएको छ । यस्तो अवस्थामा ट्राफिक नियमको पालना, सुरक्षित गति र यात्रु क्षमताअनुसार सवारीसाधन सञ्चालन भइरहेको छ,’ उनले भने ।
दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् । उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेपछि राजधानीका सडक, बसपार्क तथा बाहिरी नाकामा चहलपहल बढेको छ ।

