- रसुवा, नुवाकोट र धादिङका प्रभावित परिवारलाई प्रतिघरधुरी ४५ हजार रुपैयाँ वितरण।
- विश्व खाद्य कार्यक्रमको सहयोगमा ११ स्थानीय तहमा एकद्वार प्रणालीबाट राहत।
- प्रमाणीकरण बाँकी करिब १ हजार ४०० परिवारलाई तीन दिनभित्र रकम दिने तयारी।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ घरधुरीलाई प्रतिपरिवार ४५ हजार रुपैयाँ नगद राहत वितरण गरेको जनाएको छ। यसअनुसार हालसम्म कुल १८ करोड ४८ लाख ६० हजार रुपैयाँ वितरण भएको छ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले उपलब्ध गराएको सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीबाट वितरण गरिएको हो। स्थानीय तहले पहिचान गरेका प्रभावित परिवारलाई दोहोरो नपर्ने गरी रकम उपलब्ध गराइएको सरकारले जनाएको छ।
रसुवाका पाँच, नुवाकोटका चार र धादिङका दुई गरी ११ स्थानीय तहका बाढी प्रभावित परिवारले उक्त सहयोग पाएका छन्।
तथ्यांक प्रमाणीकरण गर्न बाँकी रहेका करिब एक हजार ४०० घरधुरीलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ।
असोज २३ गते बसेको केन्द्र तथा तीनै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोस्टहरूको संयुक्त बैठकले लाभग्राही पहिचान, प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।
रेडक्रसलगायत अन्य विकास साझेदारले पनि नगद सहयोग गर्न चाहेकाले सहायता वितरणमा दोहोरोपन रोक्न र योग्य प्रभावित नछुटून् भन्ने सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ अनुसार सहयोग उपलब्ध गराउन स्थानीय तह तथा अन्य सम्बद्ध निकायलाई निर्देशन दिइएको सरकारले जनाएको छ। बाढी प्रभावितको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनको कामसमेत अघि बढिरहेको सरकारको भनाइ छ

