काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ । विभागले चिकित्सकको परामर्शअनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न बिरामीलाई आग्रह गरेको छ ।
विभागले प्रेस विज्ञप्ति जारी गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्रीवितरण बन्द गरिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको हो ।
विभागका अनुसार तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ किसिमका ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको छ । ती औषधिका दर्ता प्रमाणपत्रसमेत खारेज हुने भए पनि यसअघि नै बजारमा आइसकेका वा बिक्रीवितरणमा रहेका औषधिको बिक्री तथा प्रयोगमा भने प्रतिबन्ध नरहेको विभागले जनाएको छ ।
अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घकालीन रोग भएका बिरामीले नियमित सेवन गर्नुपर्ने औषधिको आपूर्तिमा अभाव हुन नदिन विभाग प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
विभागले औषधिको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न तथा एउटा औषधिको प्रभाव अर्को औषधिमा पर्न सक्ने जोखिम अर्थात् क्रस–कन्टामिनेसन न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको जनाएको छ ।
यसका लागि विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक मापदण्डअनुसार जोखिम व्यवस्थापन, सफाइ प्रमाणीकरण, छुट्टै हावा आवतजावत प्रणाली तथा स्वास्थ्यमा आधारित जोखिम सीमा पालना गर्नुपर्ने व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ । जोखिमका आधारमा सम्बन्धित औषधि छुट्टै उत्पादन सुविधामा उत्पादन गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ ।
जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक रहेका उद्योग तथा आयातकर्तालाई बजारमा औषधिको आपूर्ति सन्तुलित राख्न बढीमा तीन महिनासम्म उत्पादन तथा आयात गर्न अनुमति दिई प्रमाणपत्र नवीकरण गरिएको विभागले जनाएको छ ।
विभागले नेपाल औषधि उत्पादक सङ्घ, नेपाल औषधि आयातकर्ता सङ्घ तथा नेपाल औषधि व्यवसायी सङ्घसँग समन्वय गरी औषधिको सहज उपलब्धता सुनिश्चित गर्न काम गरिरहेको जनाएको छ ।
विभागले जारी गरेको सूचनाविपरीत नयाँ उत्पादन वा आयात गरिएको औषधिको प्रयोगबाट कुनै व्यक्तिमा प्रतिकूल असर परेमा त्यसको सम्पूर्ण जिम्मेवारी औषधि उपलब्ध गराउने वा प्रयोग गराउने निकाय अथवा व्यक्तिले लिनुपर्ने चेतावनीसमेत दिएको छ ।
इम्युनोसप्रेसेन्ट औषधि शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कम वा दबाउन प्रयोग गरिन्छ । यस्ता औषधि विशेषगरी अङ्ग प्रत्यारोपण गरेका तथा केही दीर्घकालीन रोग भएका बिरामीका लागि आवश्यक पर्ने भएकाले चिकित्सकको सल्लाहबिना औषधि सेवन बन्द नगर्नु महत्वपूर्ण हुन्छ ।

