काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पालन गर्ने ४६ जना किसानलाई अनुदान वितरण गरेको छ । परम्परागत कृषि संस्कृतिको संरक्षण र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समावेश गरेको योजनाअनुसार अनुदान वितरण गरेको हो ।
गाउँपालिकाले असोज २८ गते पहिलो चरणमा वडा नम्बर १ का हलगोरु पालक किसानलाई अनुदान उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष शुक्र चुमानले सूचीकृत ४६ जना किसानलाई प्रतिव्यक्ति ७ हजार रुपैयाँका दरले अनुदान रकम वितरण गरेका हुन् ।
अनुदान वितरण कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष प्रेमबहादुर गुरुङसहित वडाका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
गाउँपालिकाका अनुसार यो कार्यक्रम पहिलो चरणमा सञ्चालन गरिएको हो । आगामी दिनमा गाउँपालिकामा सूचीकृत अन्य वडाका हलगोरु पालक किसानलाई पनि क्रमशः अनुदान उपलब्ध गराइनेछ ।
कृषकको श्रमको सम्मान, परम्परागत कृषि संस्कृतिको संरक्षण तथा स्थानीय कृषि जीवनशैलीको जगेर्ना गर्ने उद्देश्यले हलगोरु पालनमा अनुदान दिने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

