काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा लाग्नुपर्ने बताएका छन् । ग्रामीण भेग तथा जिल्लामा मात्र नभएर मुलुकमै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किँदो क्रममा रहेकाले सोको सुधारका लागि योजना बनाएर लाग्नुपर्ने बताए ।
वडा नं. ६ ढोडेनी सरन्चोकमा रहेको ढोडेनी आधारभूत विद्यालयले ६० औँ वार्षिकउत्सव तथा अभिभावक दिवसका अवसरमा प्रमुख अतिथि अधिकारीले केहि विद्यालयको शैक्षिक स्तर राम्रो भएपनि सरकारी विद्यालयले प्रदान गर्ने शिक्षाप्रति आम अभिभावकको धारणा हेराई फरक रहेको बताए ।
गाउँपालिका अध्यक्ष अधिकारी सरकारी विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न शैक्षिक अवस्थामा सुधार ल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे । पालिका भित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले विद्यालयमा शिक्षक दरबन्दी कायम गर्नुका साथै विषयगत शिक्षकको व्यवस्थापन गर्ने समेत बताए ।
कार्यक्रममा प्रधानाध्यापक बाबुराम गिरीले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको वारेमा जानकारी गराउँदै गत वर्षको १ करोड १२ लाख ३ सय ३० रुपैयाँ बराबरको आयव्याय विवरण प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त भारतीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सेरबहादुर बोगटी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गजबहादुर गुरुङ, स्थानीय समाजसेवी पूर्ण भारती, मेखराज गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका दोर्दी गाउँपालिका प्रेस सल्लाहाकार जनक श्रेष्ठले बताए ।
कार्यक्रममा स्थापनाकालदेखि हालसम्ममा विद्यालयको हरेक गतिविधिमा सहयोग गर्दै आउनुभएका विद्यालयका संस्थापक अध्यक्ष गजबहादुर गुरुङ, जग्गादाताहरु बसन्त भारती र चन्द्रकला घिमिरेलाई सम्मान गरिएको थियो । तिनै जनालाई दोसाल्ला, प्रमाणपत्र, खदा र माला लगाएकार सम्मान गरिएको थियो । विद्यालयका लागि बसन्त भारतिले ३ लाख बराबरको ६ आना र चन्द्रकला घिमिरेले १ आना जग्गादान गरेका थिए ।