जनक श्रेष्ठ
लमजुङ, १५ फागुन । लमजुङको दोर्दी गाउँपालिका किसानमैत्री बन्दै गएको छ । गाउँपालिकाले हरेक रुपमा गाउँपालिकाभित्रका किसानलाई सहयोग गर्दै आएको छ । यस्तै हालै पालिकाले किसानलाई ४८ वटा भेंडा सहयोग गरेको छ । गाउँपालिकाले वडा नं. ८ मा रहेको सात कन्यादेवि भेडापालन समूहलाई यतिका भेँडा सहयोग गरेको हो ।
किसानहरुलाई ४८ वटा भेला सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले समूहका अध्यक्ष भुवनसिंह घलेलाई भेँडा हस्तान्तरण गर्दै भेँडा संरक्षणमा गाउँपालिका लागेकाले व्यवसायिक भेँडापालनमा थप टेवा पुग्ने लक्ष्यका साथ यसरी सहयोग गरिएको बताए ।
पालिका तथा पालिका बाहिर मासु ऊन दुधबाट बनेका परिकारहरु निर्यात गरी किसानको जिवनस्तर उकास्न मदत्त पुग्ने र साथै रोजगार समेत सिर्जना हुने बताए । सो समूहको मागको आधारमा पालिकाले समूहलाई भेँडा वितरण गरेको दोर्दी पशुपन्छी शाखाका प्रमुख शंकर पन्थीले बताए ।
उनका अनुसार स्थानीय भेडा संरक्षण कार्यक्रम अन्तर्गत ४ लाख ८० हजार बराबरको भेंडा वितरण गरिएको छ । गत वर्ष नाम्ले किराको प्रकोपका कारण उक्त समूहमा रहेका सबै किसानहरुको करिब २ सय भेंडा मरेको थियो । कतिपय किसानको त खोर नै शून्य भएकाले उनीहरुले गाउँपालिकासँग भेंडाको माग गरेका थिए । समूहले पालिकामा दर्ता गरी करिब ३ वर्षबाट भेंडा पालन गर्दै आएको छ ।
हाल समूहमा ८ सय भेडा रहेको समूहका अध्यक्ष घलेले बताए । भेंडा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, वडा नं. ८ का वडाध्यक्ष नारान घले, प्रमुख प्रशासकीय अधिकृत सम्सेर गुरुङ, पशुसेवा प्रविधिक गजेन्द्र सापकोटा लगायतको सहभागिता रहेको थियो ।