लमजुङ । लमजुङको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किदै गएको बताएका छन् ।
सोमबार गाउँपालिकाको वडा नं. ७ फलेनी दारिमबोटस्थित बालकल्याण माध्यमिक विद्यालयको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले देख्छौँ, प्राइभेट विद्यालयमा आफैँले पैसा तिरेर पढाउनुपर्छ त्यहाँको व्यस्थापन आफैँले गरेको हुन्छ, त्यति धेरै ठूलो बजेट हुँदैन । तर राज्यले सरकारी विद्यालयहरुमा ठुलो बजेट खर्च गरेपनि विद्यालयको विद्यार्थी संख्या र शैक्षिक स्तर खस्किरहेकाले त्यस्ता कमी कमजोरीलाई हटाउँदै तत्काल शैक्षिक क्षेत्रलाई माथि उठाउन आवश्यक देखिएको छ ।’
स्थानीय सरकारसँगै शिक्षक, विद्यार्थी, अभिभावक मिलेर शैक्षिक क्षेत्रलाई माथि उकास्न लाग्नुपर्नेमा उनले जोड दिए । गाउँपालिकाले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने र विद्यार्थी संख्या बढाउनेतर्फ लागिरहेको गाउँपालिका अध्यक्ष अधिकारीले बताए ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, वडा नं. ७ का वडाध्यक्ष रिसमाया गुरुङ, ८ का वडाध्यक्ष नारान घले, पालिकाको शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो । यस विद्यालयमा २११ जना विद्यार्थी रहेका छन् ।