काठमाडौं । माओवादी धारका पार्टीहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लङ्घन गर्ने खालका प्रवृत्तिको खण्डन गर्ने भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो निर्णय गरेको हो ।
बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरू अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बताए । उनले पछिल्लो शान्ति प्रक्रियाको उल्लङ्घन गर्ने प्रवृत्ति देखिएकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘आज बिहान बैठक बस्यो, पूर्वमाओवादी घटकहरू आठ दलको बैठक बस्यो । शान्ति प्रक्रियाको उल्लङ्घन गर्ने खालका जुन प्रवृत्तिहरू देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै, शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरू अघि बढाउने, शान्ति प्रक्रियाका कामहरू छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेताहरू मिलेर भन्ने कुरा भएको छ । ३० गते नागरिक समाज, बुद्धिजीवीसँग शान्ति प्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ ।’
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध दर्ता भएको रिट अदालतको कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताए । उनले शान्ति प्रक्रिया उल्लङ्घन गर्ने, उल्ट्याउने खालका प्रवृत्तिहरू देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको बताए ।