काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।
यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गरे । त्यसपछि उनलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो । राष्ट्रपति सलामी सैनिक मञ्च टुँडिखेलबाट गरिएको थियो । त्यसको लगत्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाई तथा सफलताको शुभकामना दिइन् ।