काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।
सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो ।
बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।