लमजुङ । लमजुङको मस्र्याङ्दी मर्स्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा शुरु भएको छ । गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गराउन मर्स्याङ्दी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरु गरेको हो ।
मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा रहेको खुदी स्वास्थ्य चौकीलाई आइतबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ग्रामीण अल्ट्रासाउण्ड मेसीन हस्तान्तरण गरेका हुन् ।
सेवा सुचारु कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले गाउँपालिकामा पहिलो पटक खुदी स्वास्थ्य चौकीबाट उक्त सेवा शुरु गरिएको र पालिकाका ९ वटै वडामा उक्त सेवा पु¥याउन गाउँपालिका अघि बढेको बताए ।
मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेका अनुसार सुरक्षित मातृत्वका लागि गाउँपालिका आफैंले करिव ४ लाख रुपैयाँमा ग्रामीण अल्ट्रासाउण्ड उपकरण खरिद गरेर खुदी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको बताए । उनले स्वास्थ्यचौकीले तालिम प्राप्त १ जना अनमीको व्यवस्था गरेर ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको बताए ।
अल्ट्रासाउण्ड सेवा सुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा र प्रमुख प्रशाकीय अधिकृत ताराबहादुर तामाङले मन्तव्य राख्दै गाउँमै अल्ट्रासाउण्ड सेवा सुचारु भएको र ग्रामीण भेगमा नागरिकलाई सेवा लिन सहज हुने बताए ।