काठमाडौं । ८० करोडको लागतमा विस्तार गरिने गोर्खा र लमजुङ जोड्ने पन्थहिटी– साहिलटार सडकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) र उपप्रधान एवम् भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शिलान्यास गरेका छन्।
मंगलबार प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवम् भौतिक मन्त्री श्रेष्ठले गोरखा पुगेर उक्त सडक विस्तारको शिलान्यास गरे। सडक विस्तारको शिलान्यासपछि प्रधानमन्त्री प्रचण्डले समृद्धिको लक्ष्य हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। उनले अहिलेको समीकरण २०८४ सालको चुनावसम्मै कायम हुने र एकदुई दिनभित्रै मन्त्रिमण्डल विस्तार गरेर गतिमा काम अगाडि बढाउने पनि बताए।
उपप्रधानमन्त्री एवम् भौतिक मन्त्री श्रेष्ठले यो योजनालाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए। उनले यो योजनाको सुरुवातसहित सामाजिक न्यायसहित गुणात्मक आर्थिक एवम् भौतिक विकास सरकारको मुल ध्याउन्न भएको बताए।
सडकले पर्यटन, कृषि, विद्युतीकरण जस्ता विकासका पक्षलाई एकीकृत बनाउन सक्ने उनको भनाइ छ। गोरखा जिल्लालाई नमुना जिल्लाको रुपमा अघि बढाइने उनले बताए।
कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुसहित सबैको प्राथमिकता र जोडबलमा यो सडक स्तरोन्नति हुन लागेकोमा खुशी व्यक्त गरे।
योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।
वूड हिल–लामा जेभीले ३० महिनामा सक्नेगरी ठेक्का पाएको थियो। यो सडक योजनाबाट गोर्खाको पालुङटार नगरपालिका एवम् सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दुधपोखरी नगरपालिकाका विभिन्न वडा बासीहरू लाभान्वित हुनेछन्। योजनाबाट गोर्खा र लमजुङका गरी चार लाख ३० हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र योजना कार्यालय गोर्खाले अनुमान गरेको छ।