काठमाडौं । अब वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने भएका छन् ।
सामाजिक सुरक्षा कोषले बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम शुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर कार्यक्रम शुरु गरेका हुन् ।
अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ ।
सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–०७९’ जारी गरिसकेको थियो । यसलाई कार्यान्वयनमा लगिएको कोषका अध्यक्षसमेत रहेका श्रम सचिव एकनारायण आर्यालले वताए ।