काठमाडौं । तनहुँ म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो।
घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको हो ।
उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको बताइएको छ । उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले पानी ट्यांकीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको बताए।