काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस दाइ-भाउजु, साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा पार्टी परित्याग गरेको घोषणा गर्दै उनले कांग्रेस दाइ–भाउजु, साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप लगाएका हुन्।
‘पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ,’ वाग्लेले लेखेका छन्, ‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु, साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।’
२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको आफ्नो संलग्नता र ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको वाग्लले लेखेका छन्।
पार्टीभित्र ३० वर्षदेखि परोक्ष र विगत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, वौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको उनको भनाइ छ।